सुनवल–६, नवलपरासी
जनसेवा माध्यमिक विद्यालय मा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजासहित सफल भएका विद्यार्थीहरूको सम्मान तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ विद्यालयले यस वर्ष ३.९२ जीपीए सहित उल्लेखनीय नतिजा हासिल गरेको अवसरमा सफल विद्यार्थीहरूका साथै उनीहरूको सफलतामा महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण शिक्षकहरूलाई समेत सम्मान गरिएको हो l
कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरू, अभिभावकहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक सङ्घका प्रतिनिधिहरू तथा विद्यालयका सम्पूर्ण गुरुजनहरूको गरिमामय उपस्थिति रहेको थियो विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक अभिभावक सङ्घका अध्यक्ष प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व विद्यालयका प्राचार्यज्यूले गर्नुभएको थियो l
कार्यक्रमको सञ्चालन शिक्षक श्री पदम सागर शर्माले गर्नुभएको थियो उक्त अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरूको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई अभिभावक, शिक्षक र विद्यालयको संयुक्त मेहनतको प्रतिफल भएको उल्लेख गर्दै निरन्तर मेहनत, अनुशासन र लगनशीलताबाट अझ उच्च सफलता हासिल गर्न प्रेरित गर्नुभयो l
साथै, सबै वक्ताहरूले विद्यार्थीहरूलाई कक्षा ११ को अध्ययनका लागि पनि जनसेवा माध्यमिक विद्यालय नै रोजी आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो यसै अवसरमा विद्यालयले विद्यार्थीहरूको सफलतामा नर्सरीदेखि कक्षा १० सम्म अध्यापन गराउने सम्पूर्ण शिक्षकहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सबै गुरुजनप्रति विशेष सम्मान प्रकट गरेको थियो l
विद्यालय परिवारले विद्यार्थीहरूको शैक्षिक यात्रामा प्रत्येक शिक्षकको माया, मेहनत, मार्गदर्शन र समर्पण उत्तिकै महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै सम्पूर्ण शिक्षकहरूलाई सम्मान प्रदान गरेको जनाएको छ कार्यक्रममा विद्यालय प्रशासनले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा शिक्षकहरूको अथक मेहनत, धैर्यता र जिम्मेवारीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको थियो l
“शिक्षक केवल पाठ पढाउने व्यक्ति मात्र नभई विद्यार्थीको सपना, आत्मविश्वास र सफल भविष्य निर्माण गर्ने प्रेरणाका स्रोत हुन्,” भन्ने भाव व्यक्त गर्दै विद्यालयले प्राप्त गरेको प्रत्येक सफलता पछाडि सम्पूर्ण गुरुजनहरूको साझा योगदान र समर्पण रहेको यथार्थलाई सम्मान गरिएको बताइएको छ l
विद्यार्थीहरू पनि विद्यालयप्रति सकारात्मक र उत्साहित देखिएका थिए अधिकांश विद्यार्थीहरूले आगामी अध्ययनसमेत जनसेवा माध्यमिक विद्यालय मै अगाडि बढाउने इच्छा व्यक्त गरेका थिए, जसले विद्यालय परिवारलाई थप उत्साहित बनाएको छ l
उत्साह, सम्मान र प्रेरणाले भरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा नयाँ ऊर्जा र आत्मविश्वास थपेको अनुभूति गरिएको थियो विद्यालय परिवारले सम्पूर्ण सफल विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेको छ l
